काठमाडौं। राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएका छन्।
उनले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै राष्ट्रिय फुटबल टिमका प्रशिक्षकबाट राजीनमा दिएको जानकारी दिएका छन्।
उनले खुशी, माया, दुःख र पीडा बिनाको यात्रामा साथ दिने सबैलाई धन्यवाद दिएका छन्। उनले ५२५ दिन राष्ट्रिय फुटबल टिमको प्रशिक्षक भएर काम गरे।
खेलाडीसँगको विवादका कारण अल्मुताइरी पछिल्लो समय बिदामा थिए भने अखिल नेपाल फुटबल संघ (एन्फा)सँग पनि उनको दुरी पनि बढेको थियो ।
उनी कतार फुटबल सङ्घको सहयोगमा नेपालको प्रशिक्षक बनेका थिए। अलमुताइरीले यसअघि पनि सामाजिक सञ्चालनमा टिम छाडेको घोषणा गरेका थिए।
पछिल्लो समय उनी आफ्नै देश कुवेतमा बस्दै आएका थिए। एन्फाले अलमुताइरीलाई सन् २०२४ सम्म नेपाली फुटबल टोलीको प्रशिक्षकमा अनुबन्ध गरेको थियो।
तर पटक पटक विवादमा पर्दै आएका प्रशिक्षक अलमुताइरी एन्फाको नयाँ नेतृत्वसँग रुष्ट थिए। सोही कारण अहिलको एन्फाले प्रदीप हुमागाईँलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेर राष्ट्रिय टोलीको जिम्मेवारी सुम्पिएको छ।