काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन्।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता हुने बताएका हुन्।
विधेयक फिर्ता लिने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भनिसकेकोले विधेयक आज–भोलि नै फिर्ता हुने दाबी गरे।
पूर्ववर्ती सरकारले संवैधानिक परिषद सम्बन्धी विधेयक ल्याउँदा तत्कालीन समयमा प्रमुख प्रतिपक्ष कांग्रेसले विरोध गरेको स्मरण गर्दै थापाले हिजो गलत भनिएको कुरा आज पनि गलत नै भएको जिकिर गरे।
प्रधानमन्त्री देउवाले गत बुधबार संवैधानिक परिषद (काम, कर्तव्य. अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश गरेका थिए। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखी अहिलेको सरकारले विधेयक ल्याएपछि आलोचना हुँदै आएको छ।
ओलीले उक्त विधेयक ल्याउँदा देउवा तथा कांग्रेसले विरोध गरेको थियो।
त्यस्तै, थापाले साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताए।
संघ र प्रदेशको निर्वाचनको मिति साउन ४/५ मा बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने भएकोले चुनाव केन्द्रित हुन उनले कार्यकर्तालाई निर्देशन दिए। उनले मंसिरको ४ या ५ गते चुनाव हुने बताए।