आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीय इण्डो–नेपाल समन्वयात्मक बैठक आज कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ ।
निर्वाचन केन्द्रीय शान्ति सुरक्षा एवं निर्वाचनको मितिभन्दा ४८ घण्टा पहिले कञ्चनपुरसित जोडिएका भारतीय नाका बन्द गर्ने विषयमा बैठकमा आपसी समझदारी बनेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बैठकमा स्थानीय तहको निर्वाचनमा सीमा सिल, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रणलगायतका विषयमा छलफल भएको जानकारी दिए ।
‘स्थानीय तहको निर्वाचन केन्द्रीय समन्वयात्मक बैठक नै हो’, उनले भने, ‘कञ्चनपुरसित सीमा जोडिएका भारतीय नाका वैशाख ३० गतेको ४८ घण्टाअघिदेखि बन्द हुनेछन् ।’ अस्पताल र किरियापुत्रीलगायत विशेष कामलाई भने नाकामा आवागमन सहज गर्ने भनिएको छ ।
त्यसैगरी प्रजिअ पाण्डेका अनुसार नेपाल–भारत सीमा अतिक्रमणका विषयमा समेत बैठकमा छलफल भएको छ । उनले भने, ‘संयुक्त सर्वे टिमलाई सीमा छुट्याउन अनुरोध गर्ने विषयमा पनि एकमत भएका छौँ । सीमा अतिक्रमणको विषय दुवै देशबाट उठे ।’
सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण, वन्यजन्तु चोरी शिकारी नियन्त्रणलगायतका विषयमा दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान गरेर अघि बढ्ने विषयमा सहमत भएको प्रजिअ पाण्डेको भनाइ छ ।
यसैगरी बैठक सकिएपछि पत्रकारसँग प्रतिक्रिया दिँदै भारतको कुमाउका डिआइजी निलेश आनन्द भरणेले नेपालमा हुने गइरहेको स्थानीय तहको निर्वाचनमा सीमा सिल, सीमा क्षेत्रको शान्ति सुरक्षामा आफूहरु सहयोग गर्ने बताए ।
डिआइजी भरणेले भने, ‘चम्पावतमा हुने निर्वाचनका बेला पनि हामी नेपाली अधिकारीसित सीमा क्षेत्रमा नाका सिललगायतको सहयोग मागेका छौँ । अन्य आपराधिक गतिविधि नियन्त्रणमा नेपाल–भारत सुरक्षा निकायबीचको सहकार्य निकै राम्रो रहेको छ ।’