लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का युवा नेता संजय यादवले पार्टी परित्याग गरेका छन् ।
पार्टी विधिसम्मत सञ्चालन नभएको, संगठन निर्माण हुन नसकेको, केही निश्चित नेताहरुको मनपरी चलेको जस्ता आरोप लगाउँदै नेता यादव लोसपा परित्यागको घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालबाट जानकारी दिदैं उनले पार्टीको साधारण सदस्य समेत त्याग गरेको बताएका छन् । २०६४ सालदेखी मधेसको राजनितिमा लागेका यादवत त्कालीन राजपाको सह–महामन्त्री थिए ।
लोसपा बनेपछि हालसम्म कार्यकारिणी समितिबाहेक अरू कुनै समिति बनेको छैन । पार्टीले जिम्मेवारी समेत नदिएको खण्डमा त्यहीँ बसिरहनु उचित नभएको जनाउँदै यादवले पार्टी परित्याग गरेको बताएका हुन् ।

लोसपा छाडेका यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक छलफल पछी उनी एमालेमा प्रवेश गरेका हुन ।
ओली निवास बालकोटमा ओलीले यादवलाई पार्टी प्रवेश गराएका छन् । बारा जिल्ला निवासी यादवलाई एमाले बाराका नेताहरुको पहलमा पार्टी प्रवेश गराईएको बुझिएको छ । उनी बाराको आदर्शकोतवाल गाउँपालिकाका बासिन्दा हुन् ।
केहिदिन अगाडी मात्रै एमाले अध्यक्ष ओली आदर्शकोतवालमै पुगेर जसपाबाट निर्वाचित त्यहाँका गाउँपालिका अध्यक्ष महम्मद मुस्तुफालाई पार्टी प्रवेश गराईसकेका छन् ।