अभिनेता पल (पूर्णविक्रम) शाहविरुद्ध जबर्जस्ती करणीको मुद्दामा मंगलबार दुईजनाको बकपत्र भएको छ । जाहेरीवाला पीडितका बुबा र दुर्गेश (दुर्गाबहादुर) थापाको बकपत्र भएको हो । दुवैले शाह निर्दोष रहेको र बलात्कार नभएको भनी बकपत्र गरेको वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए ।
वाग्लेका अनुसार बकपत्र दिने क्रममा नाबालिकाका बुबाले सामाजिक सञ्जालमा घटनाबारे आएकाले आफूलाई दबाब दिएर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन लगाइएको जिकिर गरेका छन् । त्यस्तै, दुर्गेश थापाले पनि शाह निर्दोष रहेको भनेर बकपत्र दिएको वाग्लेले बताए ।
जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले मंगलबार दुईजनाको बकपत्र गरेको बताए । नाबालिका जबर्जस्ती करणीको अभियोगमा शाह पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा थुनामा छन् । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले १० चैतमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।