धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज बुधबार विहान नेपालगञ्जमा आपत्तकालीन अवतरण गरेको छ ।
सो विमानमा यात्रा गरिरहेका सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको श्वासप्रश्वासमा समस्या देखिएपछि धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज विहान नेपालगञ्ज विमानस्थलमा आपत्तकालीन अवतरण गरेको थियो ।
विमानस्थल सुरक्षा प्रहरीका प्रमुख सई जनक बुढाका अनुसार जहाजमै न्यायाधीश श्रेष्ठको स्वास्थ्यमा समस्या भएपछि उनकै आग्रहमा विमानलाई नेपालगञ्जमा आपात्तकालिन अवतरण गराइएको थियो ।
न्यायधीश बम र उनका सुरक्षाकर्मीलाई नेपालगञ्जमा झारेर बुद्ध एअरको सो विमान करिब १० बजे काठमाडौंका लागि उडेको थियो ।
विमानस्थलको भीआइपी कक्षमा राखेर सामान्य उपचार गरिएपछि न्यायधीश बमको स्वास्थ्य अवस्था सामान्य बनेको थियो । उनी नेपालगञ्जस्थित एक जना आफन्तको घरमा आराम गरिरहेको बताइएको छ ।