संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई आज सोमवार बिदाइ गरेका छन् ।
मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झन्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिएका हुन् ।
मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन गायक लामा र नायिका दियाले हिमाल आरोहण गर्न लागेको बताए ।
गायक लामाले सगरमाथा आरोहणसहित ६ हजार ५ सय मिटर उचाइको क्याम्प–२ मा वैशाख दोस्रो हप्ता साङ्गीतिक कार्यक्रमसमेत गर्ने बताए । ‘कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवर्द्धन गर्न र सङ्गीत तथा हिमालको नातालाई गाढा बनाउन मैले सगरमाथा आरोहण गर्न लागेको छु, विश्वको सबैभन्दा उच्च स्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने योजना छ,’ उनले भने।
गायक लामा चैत २७ गते सगरमाथा प्रस्थान गर्ने र अभिनेत्री पुन चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम तय भएको छ । जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले अभिनेत्री पुनले हिमाल आरोहण गर्न लागेको जानकारी दिए।