पाल्पा र स्याङ्जा जिल्ला जोड्ने निर्माणाधीन पुलबाट खस्दा ८ जना कामदार घाइते भएका छन् ।
पाल्पाको रामपुर–६ प्याकलुक र स्याङ्जाको चापाकोट–८ दामाचौर जोड्ने मोटरेबल पुल जोड्ने क्रममा बीम सहित कामदार खस्न जाँदा ८ जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
घाइते हुनेहरूमा रौतहटका २४ वर्षका प्रेमधन पटेल, बाराका २२ वर्षका राम निवास कुमार पटेल, बारा हरिहरपुर–८ का २८ वर्षका जितेन्द्र पटेल, भारत बिहारका २५ वर्षका धनन्जय ठाकुर, सोही स्थानका २१ वर्षका सुजित कुमार यादव, ४८ वर्षका रघुनाथ राय, २५ वर्षका अनुप कुमार राय र क्रेन चालक मिरासन गाउँपालिका–४ गोरखाका २३ ववर्षका सिर्जन परीयार रहेका छन् । घाइतेमध्ये राम निवास कुमार पटेल र धनन्जय ठाकुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभास ल्याइएको प्रभास प्रहरी चौकीले जनाएको छ ।
आइतबार साँझ पुलको स्याङ्जातर्फको ट्रस जोड्ने क्रममा अचानक बीमसहित कामदारहरू खसेका थिए । पक्की पुल निर्माणको क्रममा क्रेनको सहयताले फलामको बीममाथि उचाली कामदारहरूले बीम जोड्ने काम गरिरहेको अवास्थामा अचानक बीमसहित कामदारहरु खसेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।