कैलालीको गोदावरी नगरपालिका अत्तरियास्थित पद्मा अस्पतालमा उपचारको क्रममा गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको ज्यान गएको घटनाको छानविन गर्ने सहमति भएको छ ।
मृतकका आफन्त र अस्पतालबीच भएको छलफलमा घटनाको छानविन गर्ने सहमति भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । सत्यतथ्य छानविनका लागि समिति गठन गर्ने सहमति भएको छ ।
यसैगरी, मृतकका परिवारलाई उचित क्षतिपूर्ति पनि दिने सहमति भएको मालाखेतीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी)नवराज पोखरेलले बताए ।
क्षतिपूर्तिको रकम भने खुलाइएको छैन । उनले क्षतिपूर्ति वाफत आफन्तले चेक बुझेपनी रकम यकिन नभएको बताए ।श्रोतका अनुसार अहिलेलाई १५ लाख रुपैको चेक दिएको र बाकी रकम समेत दिने सहमति भएको जनाएको छ ।
सहमतिपछि शव सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम पनि आफन्तले बुझेर आजै गोदावरीमा दाहसंस्कार गरिएको आफन्तले बताएका छन ।