सत्ता गठबन्धनको बैठकले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको कांग्रेस नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार चुनावी तालमेल गर्न प्रदेश, जिल्ला, पालिकास्तरीय समिति गठन गरिनेछ । जसमा गठबन्धनमा रहेको दलका प्रमुखहरु रहनेछन् ।
उक्त समितिले चैत्र २२ गतेभित्र प्रदेश, जिल्ला, र पालिकामा कुन दलको अवस्था कस्तो छ भनेर केन्द्रमा प्रतिवेदन पेश गर्नेछ । त्यसपछि गठबन्धनमा सिट बाँडफाँड गरिनेछ ।
उनले गठबन्धनमा रहेको पाँचै दल स्थानीय तहको चुनावमा एकै ठाउँमा उभिएर चुनाव लड्ने बताए ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि आगामी स्थानीय तह निकायको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने निर्णय भएको जानकारी दिए । निर्वाचनमा एकताबद्ध पाँच दलको बीचमा मात्रै गर्ने निर्णय भएको पनि नेता खनालले बताए ।
त्यस्तै, निर्वाचन तालमेल गर्दा महानगर र उपमहानगरको उम्मेदवारबारे केन्द्रबाटै गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसको लागि पाँचै दलले एउटा परिपत्र जारी गर्ने भएको छ ।
पाँचै दललाई एकताबद्ध बनाएर अगाडि बढाउनका लागि परिपत्र जारी गर्ने सहमति भएको उनले बताए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबारदेखि हुने भारत भ्रमणको निमित्त सबै गठबन्धन दलका नेताहरुल शुभकामना दिए ।