सरकारले तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको हो ।
उनीहरुलाई यस अघि गृह मन्त्रालयको बढुवा सिफारिस समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको भए पनि त्यसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो । आयोगले बुधबार सो सिफारिसलाई सदर गरेको थियो ।
त्यस्तै, सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।
सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।
यसैबीच, आज बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी र न्युनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको छ ।