सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सवालमा प्रोत्साहित गर्ने गरी काम गरिरहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा महासङ्घले आज काठमाडौँमा आयोजना गरेको पत्रकार तथा सञ्चार क्षेत्रमा कोभिड–१९ को प्रभाव सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सञ्चार मन्त्री कार्कीले कोभिड होस् वा अन्य कुने पनि बेला नेपालमा पत्रकार तथा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण देखिएको बताए ।
प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै सञ्चार मन्त्री कार्कीले पत्रकारहरूको हकहितका लागि सरकारले विभिन्न नीतिगत र कानुनी व्यवस्था गरेर कार्यक्रमहरू पनि ल्याएको बताए ।
सञ्चार मन्त्री कार्कीले लोकतन्त्रलाई बलियो र संस्थागत गर्ने सवालमा पत्रकार जगतको भूमिकाको प्रशंसा गर्दै यस क्षेत्रको विकासका लागि आगामी दिनमा खेल्नुपर्ने भूमिकाका लागि मन्त्रालय तयार रहेको र सञ्चार क्षेत्रको साथमा रहेको बताए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा।वैकुण्ठ अर्यालले पत्रकारहरूको क्षमता विकासका लागि मन्त्रालयले महासङ्घको आवश्यकता अनुसार सघाउन तयार रहेको बताए ।