नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुने बताएका छन् ।
राप्ती नगरपालिकामा निर्माण भएको १३२/३३/११ केभी हर्दी विद्युत् सवस्टेसनको आज उद्घाटन गर्दै उनले ऊर्जा उत्पादनको क्षेत्रले क्रान्तिकारी छलाङ मारिरहेको बताए ।
माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङको कहाँलिलाग्दो अवस्थाबाट मुक्त भएको जिकिर गर्दै उनले यसलाई सरकारले ऊर्जाखानीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । अथाहा ऊर्जा उत्पादन, यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने उनको भनाइ छ ।
चितवनमा अबको ५० वर्षलाई धान्नेगरी ठूला–ठूला भौतिक पूर्वाधारका योजना बनाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई उनले आग्रह गरे ।
सो अवसरमा प्रचण्डले चितवन, मकवानपुर र नवलपुरलाई एकीकृत गरी विकास प्राधिकरण निर्माण गरेर यस क्षेत्रको बृहत्तर विकास गर्ने योजनाका साथ आफू अगाडि बढिरहेको बताए । विकासमा सबैको समान चिन्ता र चासो हुनुपर्ने उल्लेख गर्दै उनले सबैको सामूहिक प्रयासले मात्र उपलब्धि हासिल हुने बताए ।