स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले श्रमजीवी पत्रकारहरूको दुर्घटना बिमामा अनुदान दिने कार्यक्रम सुरु गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।
सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेटमा श्रमजीवी पत्रकारका लागि सात लाखसम्मको दुर्घटना बिमा गरी प्रिमियमको ५० प्रतिशत रकम अनुदान दिने र पत्रकारहलाई ‘उपचार सुविधा परिचय पत्र’को आधारमा सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । तर, त्यो व्यवस्था अझैसम्म लागू भएको छैन ।
मन्त्री खतिवडाले बजेटमा घोषणा भए पनि त्यसको कार्यान्वयन प्रक्रिया अघि नबढेको भन्दै आफ्नै पालामा पत्रकारहरूका लागि ती सुविधा उपलब्ध गराउन सरकार सकारात्मक रहेको बताए ।
‘विषयगत रुपमा सञ्चार मन्त्रालयअन्तर्गतको कार्यक्रम भए पनि यो कार्यान्वयनको सवाल मेरो मन्त्रालयसँग जोडिएको विषय हो ।म मेरै कार्यकालमा यो विषय कार्यान्वयको सुरुवात होस् भन्ने चाहन्छु,’ उनले भने ।
बुधबार नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित स्वास्थ्य शिविर उद्घाटन गर्दै मन्त्री खतिवडाले मन्त्रालयले बजेटका ती घोषणा कार्यान्वयनका लागि छुट्टै कार्यविधि निर्माण गर्ने क्रममा रहेको बताए ।
उनले सरकारले सुरू गरेको स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि सबै नेपालीहरूको स्वास्थ्य उपचार सहज हुने बताए ।
‘सरकारले स्वास्थ्य बिमा कार्यक्रम प्रारम्भ गरेको छ, म पत्रकारहरूसहित सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा आउन आह्वान गर्दछु,’ उनले भने, ‘पत्रकारहरूको स्वास्थ्य बिमाका लागि महासंघसँग सहकार्य गर्न मन्त्रालय तत्पर छ ।’ उनले त्यसका लागि महासंघलाई उचित प्रस्ताव ल्याउन समेत आग्रह गरेका छन् ।