गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ ।
स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको आज बिहान टिपरको ठक्करबाट ज्यान गएको हो ।
घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएकामा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ । सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।
उक्त घटनापछि सुन्दरीजल क्षेत्र तनाव सिर्जना भएको छ। बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा ढुंगामुढा गरेका थिए । उनीहरूले टिपरमा आगजनीसमेत गरेका छन् । अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरी टोली खटिएको छ। प्रहरीले स्थानीयमाथि अश्रुग्याससमेत प्रहार गरेको छ।