नेपालको पर्यटन प्रवद्र्धनका साथै कला, संस्कृतिको प्रचार होस् भन्ने उद्देश्यले अमेरिकी राष्ट्रिय कलाकारको संस्था प्लेङ फर चेन्ज फाउण्डेसनमा आबद्ध कलाकारले नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा चलचित्र छायाङ्कन गर्ने भएका छन् ।
उक्त फाउण्डेसनका निर्देशक ज्याक थोमससहितको टोलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर सो कुराको जानकारी गराएका हुन् ।
आगामी वैशाखदेखि नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा पुगेर चलचित्र छायाङ्कन गर्ने मन्त्री आलेलाई दिइएको हो । नेपालको सुरसुधा ग्रुपसंग सहकार्य गरी उक्त फाउण्डेसनले चलचित्र निर्माण गर्ने भएको जानकारी पनि सो अवसरमा दिइएको थियो ।
यसैगरी उक्त फाउण्डेसनले नेपालमा सङ्गीत विद्यालय स्थापना गर्ने योजना बनाएको पनि सो फाउन्डेसनका व्यवस्थापक ईश्वर बज्राचार्यले बताए । उनले सो फाउण्डेसनले नेपालका पर्यटकीय क्षेत्रको भ्रमण गरी तिनमा छायाङ्कन गरिएका चलचित्र निर्माण गर्नुका साथै सङ्गीत विद्यालय निर्माण गर्ने योजना बनाएको बताए ।
यसअघि उक्त फाउण्डेसनले नेपालका काठमाडौँ, ललितपुर, उदयपुरको गाईघाट, कटारी, तिनतलेगाउँमा सङ्गीत विद्यालय स्थापना गरिसकेको छ । ती विद्यालयबाट निःशुल्करुपमा सङ्गीत सिकाउन थालिएको सुरसुधा गु्रपका तबला बाधक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
मन्त्री आलेले अमेरिकी कलाकारले यहाँ चलचित्र निर्माण गर्ने र सङ्गीत विद्यालय खोल्ने योजना आफूहरुका लागि स्वागतयोग्य रहेको र यसले नेपालको पर्यटन प्रवद्र्धन तथा यहाँको कला, संस्कृतिको जगेर्नाका लागि सहयोग पुग्ने मन्त्री आलेले बताए ।
“हाम्रो कला, संस्कृतिको जगेर्ना तथा यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि निर्माण हुने कुरा हामी सबैका लागि स्वागतयोग्य छ, उक्त कार्यमा के सहयोग गर्न सकिन्छ, हामी सहयोग गर्न तयार छौँ ,” उनल े भने ।