नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअलमार्फत नेपाल रेल सेवाको उद्घाटन गरिने मिति तय भएको छ ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा दिल्लीबाट भर्चुअल माध्यमबाट यही १९ गते शनिबार उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणमा शुक्रबार प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भारत भ्रमणमा जाँदैछन् ।
रेल सञ्चालनका लागि सरकारले यही चैत ८ गते अध्यादेशमार्फत आवश्यक कानूनी प्रबन्ध गरेको छ । विसं २०७५ मा नै रेलमार्ग निर्माण सकिएको भए पनि कानूनी तथा प्राविधिक जटिलताका कारण लामो समयसम्म रेल सञ्चालनको मिति तय हुन सकेको थिएन । कूल ३५ किलोमिटर लामो सो रेलमार्गमा चल्ने रेलका अन्तरदेशीय प्रकृतिको ब्रोडगेज हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार २०७७ असोज पहिलो साता जनकपुर आइपुगेको रेल सञ्चालन गर्नेबारेमा यसअघि ठोस निर्णय हुन सकेको थिएन । सरकारले सबै करसहित रु एक अर्ब तीन करोड बराबर खर्च गरेको रेल सञ्चालनमा नआउँदा रेलका लिकमा राखिएका सामानसमेत चोरी भएका थिए ।
जनकपुरमा रेल आइपुगेको १७ महिनापछि सञ्चालन हुन लागेको हो । सरकारले रेलको भाडासमेत तय गरेको छ । सामान्य सिटमा यात्रा गर्नेलाई रु ७० र वातानुकूलित एसी सिटमा यात्रा गर्नेलाई रु ३०० बराबरको भाडा लाग्ने गरी दुई प्रकारको भाडा तय भएको छ । यस्तै रेल दुर्घटनमा परी कोही कसैको ज्यान गएको खण्डमा रु सात लाखसम्म क्षतिपूर्ति दिइने व्यवस्थासमेत रेल्वे अध्यादेशमा गरिएको छ ।
गत फागुनदेखि नै दैनिक एक पटक रेल सञ्चालन गरिँदै आएको थियो । सबै प्राविधिक तयारी पूरा भएको र कर्मचारीसमेत नियुक्त भई काममा खटिइसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।