पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरामा रिट निवेदन दर्ता गरेका छन् ।
जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले उनले आज उच्च अदालत पोखरामा रिट निवेदन दर्ता गरेका हुन् ।
तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा मंगलबार रिट दायर गरेको अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा नायक पल शाह जिल्ला अदालत तनहुँले चैत्र १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
त्यस्तै, नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहका म्यानेजर कृष्ण जोशीलाई एक लाख धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको थियो ।
मुद्दा
शाहले बलात्कार गरेको भन्दै ती नाबालिग गायिकाले तनहुँ र गैंडाकोटमा उजुरी दिएकी थिइन् । ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेपछि शाह १५ फागुनमा आफैं प्रहरीसमक्ष उपस्थित भएका थिए ।
१७ वर्षीया किशोरी गायिकालाई उनले विवाह गर्छु भन्दै अनेक प्रलोभनमा पारेर यौन शोषण गरेको पीडित पक्षले जाहेरीमा आरोप लगाएका छन् । स्रोतका अनुसार आफूविरुद्ध भएको यौन शोषण बाहिर ल्याउन किशोरीले पटक पटक प्रयास गरे पनि पलले अनेक कुरा गरेर उनलाई फकार्एका थिए ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।