झन्डै ६ महिनापछि सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठकपछि सभामुखले बिजनेस नभएको भन्दै बैठक स्थगित गरेका छन् ।
सोमबार बसेको दोस्रो बैठकको अन्त्यमा सभामुख अर्जुनबहादुर थापाले सभासँग कुनै बिजनेस नभएकाले चैत १७ गते सम्म बैठक स्थगित गर्नुपरेको बताए ।
‘माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु, हिजो सुरु बैठक आज पनि बस्यो । अब हामीसँग बिजनेस सकियो,’ सोमबारको बैठकको कार्यसूची सकिएपछि सभामुख थापाले भने, ‘माननीयज्यूहरूले हामीलाई बिजनेस दिनुपर्छ । तयार भएका विधेयक समयमा सचिवालयमा दर्ता गर्नुपर्छ ।’
सभामुख थापाले प्रदेश सभालाई नियमित सञ्चालन गर्नका लागि पर्याप्त मात्रामा विजनेश दिनु पर्ने भन्दै सरकार, विषयगत समिति र सदनको ध्यानाकर्षण गराएका छन् । आइतबार पेस भएको सुदूरपश्चिम प्रदेशको दुग्ध विकास बोर्ड स्थापना व्यवस्थापन गर्न बनेको विधेयकमा सोमबार छलफल भएको थियो ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्यले सो विधेयक निर्माणमा सुदूरपश्चिम प्रदेश सरकार र संसदीय समितिको क्षमतामाथि प्रश्न उठाएका छन् ।बनाइएको कानून चाँडै चाँडै संशोधन भइरहेकाले विधेयक निर्माणमा सरकार र संसदीय समितिहरुको क्षमतामाथि उनीहरुले प्रश्न उठाएका हुन ।
सोमबार बसेको प्रदेश सभा बैठकमा सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक २०७७ लाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफल गर्दै उनीहरुले विधेयक चाँडै संशोधन हुनु लाजमर्दो कुरा रहेको स्पष्ट पारे ।