सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि आह्वान गरेको विज्ञापन खारेजीको माग गरेका छन् ।
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले संविधानविपरीत तह विहीन वनरक्षक पदको विज्ञापन गरेको भन्दै थारु कल्याणकारी सभा कैलाली सहित ११ दलले संविधान विपरीत खुलाएको भन्दै खारेज गर्न माग गरेका हुन् ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन प्रति घोर आपत्ति जनाउँदै तत्काल खारेजीको माग गरे ।
प्रदेश सरकारले गरेको विज्ञापनले पुनः थारुहरुलाई मधेसी बनाउन खोजेको अरोप लगाउँदै उनले थारुको कोटा निर्धारण नगरे सडक आन्दोलन गर्ने चेतावनी समेत दिए ।थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले प्रदेश लोकसेवा आयोगको विज्ञापन नसच्चिए कानुनी पक्रियामा अगाडि बढ्ने बताए ।
उनले थारु कोटा निर्धारणका लागि मुख्यमन्त्री, विधायन समिति, कानुन मन्त्रालयलगायतमा ज्ञापनपत्रमार्फत दबाब दिने बताए ।आयोगले यही चैत ९ गते प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेस्टी समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ । प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्न गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि १६७ पदमा विज्ञापन खुलाएको छ ।