आगामी चुनावमा सत्तारुढ दलबीच तालमेल गर्ने विषयमा नेपाली कांग्रेसले मंगलबार अर्थात भोलि औपचारिक निर्णय गर्ने भएको छ ।
आजको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै कांग्रेस प्रवक्ता डा.प्रकाश शरण महतले सो जानकारी दिए ।
बैठकमा अधिकांश सदस्यले गठबन्धन गरेर चुनावमा जानुपर्ने धारणा राखेको भन्दै उनले भने, ‘भोलिको बैठकमा प्रस्ताव तयार गरेर आगामी चुनावमा सत्तारुढ दलबीच तालमेल गर्ने विषयमा निर्णय गर्छौ ।’ उक्त निर्णय गर्न बैठक मंगलबार दिउँसो ३ बजे बस्नेछ ।
स्थानीय तहको चुनावमा गठबन्धन गर्दा पार्टी मजबुद हुनुका साथै आगामी प्रदेश र प्रतिनिधिसभा चुनावका धेरै क्षेत्रमा जित्न सकिने केन्द्रीय सदस्यले धारणा राखेका छन् । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम आज सकिएको छ ।
अधिकांश सदस्यले गठबन्धनको सैद्धान्तिक निर्णय केन्द्रबाटै हुनुपर्ने राय राखेकाले अर्को बैठकले प्रस्तावसहित निर्णय गर्ने बताए । महतका अनुसार कुन ठाउँमा पार्टीको अवस्था कस्तो छ भन्ने रिपोर्टका आधारमा कतै मित्रतापूर्ण प्रतिस्पर्धा र कतै गठबन्धन हुनेछ ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरु गठबन्धनलाई चुनावसम्म लानुपर्नेमा बताउँदै आएका छन् । तर, कांग्रेस नेता डा. शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा थियो ।