कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले लोकतन्त्र, कानुनी राज्य र संवैधानिक सर्वोच्चताको रक्षा गर्न विशेष परिस्थितिमा बनेको वर्तमान सरकारको दायित्व पूरा हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
नेपाल न्याय सेवाअन्तर्गत नवप्रवेशी अधिकृतका लागि आयोजित सेवा प्रवेश तालिमको समापन समारोहमा आज उनले संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारीसहित बनेको सरकार कानुनको शासनमार्फत सुशासन कायम गर्न क्रियाशील रहेकाले यस कार्यमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।
उनले संविधानअनुसार तीनै तहको निर्वाचन गर्ने दायित्व पनि यही सरकारको काँधमा रहेकाले सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि उच्च मनोबलका साथ कर्तब्यनिष्ठ भएर कार्यक्षेत्रमा खटिन कर्मचारीलाई निर्देशनसमेत दिए।
मन्त्री बडूले कानुन निर्माण, स्वतन्त्रतापूर्वक न्यायसम्पादन र कानुनको परिपालनाका लागि खबरदारी गर्ने दायित्व बोकेको न्याय सेवाका कर्मचारीले नागरिक हितलाई केन्द्रमा राखेर काम गर्नेमा आफू विश्वस्त रहेको पनि बताए ।
“लोकतन्त्रमा जनता नै मालिक हुने भएकाले पारदर्शिता र जवाफदेहितासहित जनसेवामा लाग्नुहोस्”, मन्त्री बडूले नवप्रवेशी अधिकृत कर्मचारीलाई भने, “तपाईँहरूमार्फत जनताले जिम्मेवार सरकारको अनुभूति गर्ने भएकाले कहीँकतैबाट विचलित नभएर जनसन्तुष्टिका लागि काम गर्नुहोस् ।”
“आवधिक निर्वाचनबाट आउने सरकार बदलिरहन्छन् तर तपाईँहरू ९कर्मचारी० स्थायी सरकारका प्रतिनिधि हो, त्यसैले लोकतन्त्र, कानुनी राज्य र सुशासन सुनिश्चितताका लागि कुशल कार्यसम्पादन र असल व्यवहारमार्फत जनताको विश्वास आर्जन गर्न सक्नुपर्दछ”, उनले भने ।
कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, मन्त्रालयका सचिव उदयराज सापकोटा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक डा तुल्सीशरण सिग्देल र न्याय सेवा तालिम केन्द्रका प्रमुख बलसागर गिरीले सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता वृद्धि हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई आग्रह गरे ।