पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर खोला पुलमा आइतबार मध्यान्ह बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत भइसकेको छैन ।
दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन् ।
वीरगन्जबाट जनकपुरका लागि छुटेको ना ४ ख ८५५५ नम्वरको बस लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको हो ।
घाइतेको उद्धार गरी लालबन्दीका विभिन्न अस्पतालमा ल्याइएको छ । गम्भीर घाइतेलाई लालबन्दीबाट अन्यत्र रेफर गर्नेक्रम भइरहेको अस्पतालले जनाएको छ ।
दुर्घटनामा बस चालक समेत घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ ।