सर्लाहीको धनकौलस्थित एक दलित बस्तीमा शनिबार दिउँसो आगलागी हुँदा १३ घर जलेका छन् । धनकौल गाउँपालिका–५, पासवान टोलमा शनिबार दिउँसो १ बजेबाट सुरु भएको आगोले १३ घर जलेर नष्ट भएको हो ।
घरहरु नष्ट भएपछि पीडितहरु बिचल्लीमा छन् ।स्थानीय प्रदीप पासवानको घरबाट सुरु भएको आगोले रामवली पासवान, जवाहर पासवान, सितल पासवान, बिकाउ पासवानको घर जलेको हो ।
यस्तै आगलागीमा जितन पासवान, रामविश्वास पासवान, गगनदेव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, रामनाथ पासवान, मचिन्द्र पासवान र राकेश साहको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेका अधिकांश फुसले छाएका कच्ची घरहरु रहेका छन् ।
दिउँसो तीव्र हावा चलेका कारण आगोले बढी क्षति पुर्याएको स्थानीयले जनाएको छ । आगलागी स्थानीय, प्रहरी र सदरमुकाम मलंगवा तथा हरिवनबाट गएको दमकलको सहयोगमा निभाइएको थियो ।