सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना विकास परियोजना भएको बताएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नं ४ सुनसरीले कोसी गाउँपालिकामा आयोजना गरेको ‘घर–घर जाउँ, कांग्रेस जिताउ’ अभियान कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले एमसिसी परियोजनाका विषयमा छरिएको भ्रममा कुनै किसिमको सत्यता नभएका कारणले त्यसको पछि नलाग्नका लागि सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
उक्त परियोजना केवल विकास परियोजना भएको र यसमा आउने अनुदान रकमबाट पूर्वाधार विकास, सडक र विद्युतको ट्रान्समिसनलाइन विस्तारमा खर्च हुने भएकाले यो केवल विकास परियोजना मात्र भएको मन्त्री कार्कीले बताए ।
एमसिसी परियोजनाबाट ७७ किलोमिटर अन्तर्राष्ट्रियस्तरको बाटो निर्माण गर्ने लक्ष्य रहेको उनले बताए । गरिबी निवारण गरेर देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे ।
उनले एमसिसीका कारणले अमेरिकन सेना आउने भन्ने भ्रममा कुनै किसिमिको सत्यता नभएको जनाउँदै यसले मुलुकको समृद्धिका लागि ढोका खोल्ने कार्य गरेको बताए । मन्त्री कार्कीले एमसिसी परियोजना मुलुक, नेपाली जनता र राष्ट्रको हितमा रहेको दाबीसमेत गरे ।