चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी शुक्रबारदेखि काठमाडौंमा छन् ।
१९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विदेशमन्त्री वाङ यी त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट शुक्रबार अपराह्न काठमाडौं पुगेका थिए ।
उनी शनिबार बिहानै ‘हाइकिङ’ निस्केका थिए् । दिउँसो लञ्चपछि नेपाली समकक्षी परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आजपनि दिउँसो ३ बजेपछि मात्रै औपचारिक कार्यक्रमहरू सुरु हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव सेवा लम्सालले जानकारी दिइन् ।
शनिबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चीन– नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ताको नेतृत्व गर्नेछन् । वार्तापछि दुई देशबीच घाँस निर्यातलगायत पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारस्थित उनको सरकारी निवासमा शिष्टाचार भेट गरेपछि प्रधानमन्त्री र विदेशमन्त्री वाङको उपस्थितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समापन समारोहको श्रव्यदृश्यका माध्यमबाट निरीक्षण हुनेछ ।
शनिबार साँझ नै वाङ परराष्ट्र मन्त्री खड्काले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछन् ।
आइतबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गर्नेछन् ।
त्यसपछि पूर्वप्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट सकेर चिनियाँ विदेशमन्त्री वाङ अपराह्न बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।