कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ।भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कर्णाली प्रदेश अस्पतालबीच बिहीबार सम्झौता भएको हो।
केन्द्रका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठ र कर्णालीको प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।अब यसै आर्थिक बर्षदेखि प्रदेश अस्पतालमा पनि यो सेवा सुरु गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक खड्काले बताए।
प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सुरु गर्ने, कर्णाली प्रदेशका अरु विभिन्न अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने र यसका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रअन्तर्गत जनशक्तिको तालिम, अध्यापन गराउनेलगायतका विषयमा सहमति भएको खड्काले बताए।
कर्णाली प्रदेश अस्पताल पछिल्लो समय नेपालका गुणस्तरीय सेवा दिने अस्पतालमध्येमा पर्छ। २५० शय्या क्षमताको अस्पतालबाट आईसीयूलगायत उच्चस्तरीय सेवा प्रदान भइरहेका छन्।