कैलालीको धनगढीमा ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने नारासहित १५औँ सुदूरपश्चिम महोत्सव आजदेखि सुरु भएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बिहीबार उद्घाटन गरेका हुन् ।
उद्योग वाणिज्य सङ्घ कैलालीले धनगढीमा प्रदर्शनी स्थलको व्यवस्थापनका लागि एक सूत्रीय माग मुख्यमन्त्री समक्ष राखेका छन् । भने मुख्यमन्त्री भट्टलाई ७ किलोको माला समेत लगाइएको थियो । आजबाट सुरु भएको महोत्सव यही चैत २० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा लागेको छ । महोत्सवमा अनुमानित २ करोडको लगानीमा उत्कृष्ट रुपमा सम्पन्न गरिने छ । महोत्सवमा उद्योगी व्यवसायको १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बताए ।
हरेक वर्ष मङ्सिर २२ गतेदेखि पौष २ गतेसम्म आयोजना हुने महोत्सव कोभिड-१९ का कारण विगत दुई वर्षदेखि हुन सकेको थिएन । २०६३ सालदेखि कैलाली उद्योग वाणिज्य सङ्घले मङ्सिर २२ गतेदेखि पौष २ गतेसम्म महोत्सवको आयोजना गर्दै आइरहेकोमा कोभिड-१९ का कारण यो पटक चैत्र १० देखि २० गतेसम्म आयोजना गरिएको सङ्घका अध्यक्ष कुँवरले बताए ।