प्रधानमन्त्री शेरबहादुर देउवाले मेला महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् ।
तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि दमौलीमा सुरु भएको आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्दै उनले कोभिड–१९ ले थला परेको अर्थतन्त्र चलायमान बनाउन स्थानीयस्तरमा आयोजना हुने मेला महोत्सवबाट सहयोग पुग्ने उल्लेख गरे ।
आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि मेला महोत्सव सार्थक सिद्ध हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, “कोरोनाले दुई वर्षदेखि रोकिएका मेला महोत्सव सञ्चालन हुनु अर्थतन्त्रका लागि राम्रो हो ।”
हरेक नेपालीलाई कोभिड–१९ विरुद्धको खोप लगाइएकाले नेपालीमा आत्मबल बढेको उनको भनाइ थियो । स्थानीय स्तरमा उत्पादन हुने वस्तुको प्रचारप्रसार र बजारीकरणमा महोत्सवबाट सहयोग पुग्नुपर्ने प्रधानमन्त्री देउवाले बताए ।चैत २० गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य छ । साथै महोत्सवमा रु छ करोड बराबरको आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।
ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका ऐतिहासिक र सांस्कृतिक रुपले सम्पन्न ग्रामीण बस्तीको प्रवद्र्धनका लागि दर्शकलाई सांस्कृतिक नमूना ग्राम भ्रमण गराउने योजना छ । महोत्सव अवलोकनका लागि दर्शकलाई मानुङकोट, कुमालटारी, बोटेगाउँ, दरैगाउँ लगायतका गाउँ भ्रमणको व्यवस्था मिलाइएको छ ।