बागमती प्रदेशमा किसान तथा व्यावसायीहरुले पालेका पन्छीहरुमा देखिएको बर्डफ्लुका कारण प्रदेशका ६ जिल्लामा ३ करोड बराबर क्षति भएको छ ।
आज प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलले बागमती प्रदेशमा गत माघ महिनाबाट देखापरेको बर्डफ्लुका कारण प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक गरी ६ जिल्ला बढी संक्रमित बताए ।
बर्डफ्लु रोग संक्रमण देखिएको स्थानहरुमा हालसम्म ५८ हजार २ सय ६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तवरबाट नष्ट गरिएको समेत कँडेलले बताए । उक्त नष्ट गरिएका पक्षी, अण्डा र दानाबाट लगभग ३ करोड बराबर क्षती भएको मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले बताए ।
त्यस्तै बर्डफ्लु देखिएका स्थानमा पन्छी नष्ट गरिएका पन्छीको क्षति भए वापतको रकम समेत दिन मन्त्रालयले आवश्यक मापदण्ड तयार गरिरहेको पाण्डेले बताए ।