मधेस प्रदेशको रौटहट जिल्ला अन्तर्गत दुई पालिकाहरुमा सञ्चालित जलवायु उत्थानशिल परियोजनाको सामाजिक लेखापरिक्षण कार्यक्रम आज (बुधवार) सम्पन्न भएको छ ।
ग्रामिण विकाश केन्द्र नेपाल रौटहटले युरोपियन युनियन तथा अक्सफाम ईन नेपालको आर्थिक सहयोगमा सञ्चालन गरेको उक्त परियोजनाको चन्द्रपुर नगरपालिका तथा वृन्दावन नगरपालिकामा सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
परियोजना अन्तर्गत विभिन्न कृषक समुह तथा वन व्यवस्थापन समुहका सदस्यरुको व्यवसाय एवम क्षमता अभिवृद्धीका लागि कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।
दुबै पालिकाहरुमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरुमा चन्द्रपुर नगरपालिका प्रमुख रामचन्द्र चौधरी, उपप्रमुख रामरती चौधरी, वृन्दावन नगरपालिकाकी उपप्रमुख नुर जहाँ लगायत विभिन्न वडाका अध्यक्ष, समुहका सदस्य, संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
ग्रामिण विकाश केन्द्र नेपाल रौटहटका अध्यक्ष पारष हुसेनको अध्यक्षतामा भएको कार्यक्रममा परियोजना अन्तर्गत भएको क्रियाकलाप तथा त्यसबाट प्राप्त उपलब्धिहरुको बारेमा जानकारी दिईएको संस्थाकी ज्योती मिश्राले जनाईन् ।
परियोजना अन्तर्गत जलवायु परिवर्तनका विधमान नितिहरुमा लक्षित समुदायको अभिमुखिकरण, ३९ वटा सडक नाटक प्रदर्शन गर्नुका सांथै दुईवटै पालिकाहरुमा स्थानिय विपद व्यवस्थापन समितिहरु समेत गठन गरिएको मिश्रले जनाएकी छिन् । त्यस्तै जलवायुमैत्री व्यवसाय सञ्चालनका लागी ३० वटा समुहलाई ८० हजार रुपैयाँको दरले आर्थिक अनुदान समेत दिईदिएको मिश्रले जनाईन् ।
कुल ९३ लाख ८९ हजार ६ सय एक रुपैयाँ खर्च भएको उक्त परियोजना अन्तर्गत दुई पालिकाको विभिन्न वडामा जिविकोपार्जन तथा व्यवसायका लागि सहयोग एवम क्षमता अभिवृद्धी, भ्रमण, वृक्षारोपन, जनचेतना लगायतको कार्यक्रमहरु गरिएको मिश्रले बताईन् ।