उच्च अदालत दीपायलमा परेका मुद्दाको बहस अब धनगढीबाट गर्न सकिने भएको छ । कैलालीबाट परेका मुद्दाको बहस भर्चुअल माध्यमबाट गर्ने व्यवस्था गरिएको हो । त्यसका लागि कैलाली जिल्ला अदालत वार इकाइमा प्रविधि र उपकरण जडान गरिएको छ ।
जिल्लास्थित बार एशोसिएसनको कार्यालयमा उपस्थित भइ पक्ष, विपक्ष र कानून व्यवसायीले भर्चुअल रूपमा अनलाइन मार्फत् इजलासमा सहभागी हुन पाउने भएका हुन् । कानुन व्यवसायीले भर्चुअल माध्यमबाट मुद्दाको बहसपैरवी यहीँबाट गर्न पाउने छन् । भर्चुअल माध्यमको सोमबार सुरुवात गरिएको हो ।
यसले सेवाग्राहीलाई कानुनी सेवा पाउन सहज भएको वार एशोसिएसन कैलालीका अध्यक्ष सिद्धराज ओझाले बताए । वहसका लागि दीपायल पुग्नुपर्ने बाध्यता हटेको र यसले विपन्न नागरिकको पनि न्यायमा पहुँच सहज हुने बताए । भर्चुअल माध्यमले यहीँबाट वहस गर्न सकिने भएपछि कानुनी व्यवसायीको पनि दीपायल पुग्दा लाग्ने समय बचत हुने उनले बताए ।
भर्चुअल माध्यमबाट वहसको सुरुवात भएसँगै प्रदेश राजधानी धनगढीबाट झण्डै दुई सय किलोमिटरको दूरी र सात घण्टाको यात्रा पार गरी दिपायल पुग्नुपर्ने बाध्यता अन्त्य भएको उच्च अदालत दिपायलका प्रवक्ता नरबहादुर नेगीले बताए । यसले सेवा प्राप्तिमा सहज हुने उनले बताए ।
तत्कालका लागि कैलाली जिल्लाका लागि मात्र भर्चुअल सुनुवाइ शुरू गरिएको हो । यहाँका अन्य जिल्लामा पनि भर्चुअल सुनुवाइ विस्तार गरिने उच्च अदालतले जनाएको छ । प्रदेश राजधानीबाट मुद्दा लिएर दिपायल पुग्नु पर्दा मुद्दाका पक्षलाई दोहोरो आर्थिक भार परिरहेको थियो ।
सर्वोच्च अदालत, उच्च अदालत दीपायल र वार एशोसिएसनको पहलमा यो व्यवस्था गरिएको हो । धनगढीबाटै भर्चुअलरूपमा इजलासमा सहभागी हुन पाउने भएपछि सेवाग्राहीलाई निकै राहत महशुस हुने विश्वास गरिएको छ । उच्च अदालतमा पर्ने अधिकांश मुद्दा कैलालीका छन् ।