लेटाङमा एक महिला प्रहरीको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा ८ जना पक्राउ परेका छन् ।
एक छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेर विवाद चर्किँदा लेटाङ–५ मा आइतबार मानिसको भिडले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । उनी नेपाल प्रहरीको प्रदेश प्रहरी गण रानीमा कार्यरत थिइन् ।
दिनभरि विद्यालय परिसरभित्रै रहेका नगरपालिकाका जनप्रतिनिधि तथा ती आरोपित शिक्षकलाई भिडबाट निकालेर बाहिर ल्याउने क्रममा उक्त घटना भएको थियो ।
घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म ८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनामा मारिएकी प्रहरीको शरीरका खत र कस्ता हतियार प्रयोग भएको हो भन्ने विषय पनि अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए ।
प्रहरी जवान मारिएको घटनामा नियन्त्रणमा लिइएका मानिसहरू संलग्न प्रमाणित भए कर्तव्य ज्यान मुद्दामा सजायको माग गर्दै अदालतमा पेस गर्ने तयारी मोरङ प्रहरीको छ ।
महिला प्रहरी जवान श्रेष्ठको मृत्यु भएपछि स्थिति अझ तनावग्रस्त बन्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले घटनास्थल तथा आसपासका स्थानमा बिहान ७ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेश जारी भएपछि अहिले लेटाङ सुनसान रहेको छ ।