नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले रौतहटकाे माधव नारायण नगरपालिकाको खेसरहियामा हत्या गरिएका पुजारी श्रीराम साहको स्मृतिमा मठ–मन्दिरको उद्धघाटन गर्दै खेसरहिया बजारको नाम श्रीराम चौक घोषणा गरेका छन् ।
गत वर्ष गोली हानी हत्या गरिएका पुजारी श्रीराम साहको स्मृतिमा खेसरहियामा निर्मित हनुमान मन्दिर र धर्मशालाको उद्घाटन गर्दै पूर्वमन्त्री साहले सो चोकलाई श्रीराम चोक र श्रीराम बजारको रुपमा अगाडि बढिरहेको बताए । देवाही बागमती पुलबाट खेसरहिया हुँदै वीरेन्द्र राजमार्गमा जोडने सडक निर्माण अन्तिम चरणमा पुगेकोले शहरीकरण सम्भव रहेको पूर्वमन्त्री साहले घोषणा गरे ।
पूर्वमन्त्री साहले सो मन्दिर परिसरमा निर्माण भएका सबै संरचनाहरु आफ्नो निजी प्रयासमा कुनै सरकारी बजेटविना निर्माण गरिएको जनाउँदै मनमा दृढ संकल्प भए हरेक कुरा सम्भव रहेको उल्लेख गरे । पुजारीकै हत्या गरिएको स्थानमा उनको सालिक, हनुमान मूर्ति स्थापना हुनु र मठ निर्माण गरेर आफुले पुजारी प्रति श्रद्धा तथा श्रद्धाञ्जली अर्पण गरेको उल्लेख गर्दै सो क्षेत्रको थप विकासको लागि निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे ।
पूर्वमन्त्री प्रभु साहको पहलमा पुजारीको हत्या गरिएको स्थानमा २ कोठे र ३ कोठे गरि २ वटा मठ र धर्मशाला भवन, पुजारीको शालिक, हनुमानको मूर्ति तथा हनुमान मन्दिर परिसरको निर्माण गरिएको हो । बिना कुनै बजेट एक करोडभन्दा बढी लागतमा सो संरचना निर्माण भएको हो ।
कार्यक्रममा सो स्थानमा लाग्ने नयाँ बजार र चौकको नाम खेसरहिया श्रीराम बजार राख्ने सार्वजनिक घोषणा गरिएको थियो ।