नाबालिग गायिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाहलाई) जिल्ला अदालतबाट पुनः ५ दिनको म्याद थप गरिएको छ ।
अनुसन्धान पूरा नभएको भन्दै तनहुँ प्रहरीले अदालतमार्फत ५ दिनको म्याद थप गरेको प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरिएको हो । शाहविरुद्ध गत फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप गरिएको थियो । नवलपुरमा पनि जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो । नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।
सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सबै प्रमाण जुटाएर अदालतमा मुद्दा दायर गरेको छ ।
यस्तै, मतियारको भूमिका निर्वाह गरेको भन्दै गत शुक्रबार पक्राउ परेका शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
शाहले बलात्कार गरेको भन्दै ती नाबालिग गायिकाले तनहुँ र गैंडाकोटमा उजुरी दिएकी थिइन् । ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेपछि शाह १५ फागुनमा आफैं प्रहरीसमक्ष उपस्थित भएका थिए ।
१७ वर्षीया किशोरी गायिकालाई उनले विवाह गर्छु भन्दै अनेक प्रलोभनमा पारेर यौन शोषण गरेको पीडित पक्षले जाहेरीमा आरोप लगाएका छन् । स्रोतका अनुसार आफूविरुद्ध भएको यौन शोषण बाहिर ल्याउन किशोरीले पटक पटक प्रयास गरे पनि पलले अनेक कुरा गरेर उनलाई फकाएका थिए ।
के भन्छ कानुनले ?
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।