दोहोरो नागरिकता लिएको आरोपमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने २८ वर्षीय पुजा ढकाल पक्राउ परेकी छन्।
ढकालले जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला प्रशासन कार्यालय गोरखाबाट छुट्टाछुट्टै नागरिकता लिएको पाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्म अधिकारीले बताए ।
कास्कीको पोखरा महानगरपालिका–६ बैदाम माइती भएकी ढकालले २०६७ मंसिर ८ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो नागरिकता लिएकी थिइन् ।
पुन: २०६७ मंसिर २८ गते गाइने सार्कीलाई बाबु देखाएर जिल्ला प्रशासन कार्यालय गोरखाबाट पुजा गैरे सार्कीको नाममा दोस्रो नागरिकता लिएको देखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन गोरखाको पत्राचारपछि ढकाललाई पक्राउ गरेर जिल्ला अदालतमा दोहोरो नागरिकता सम्बन्धी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको अधिकारीले बताए ।