सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिने व्यक्तिलाई उच्च अदालत दिपायलले दुई महिना कैद सजाय सुनाएको छ ।
२०७७ साल वैशाख २७ गते कैलालीको रेडियो डेलिमेलको फेसबुक लाइभ कार्यक्रममा कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेले धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई लक्षित गर्दै जात करे उत्पात भनेको यही हो भनी सामाजिक सञ्जालमा लेखी जातीय रुपमा विभेद गरेको भन्दै पतिराम सोवसहित चार जनाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए ।
सो मुद्धामा कैलाली जिल्ला अदालतले २०७७ मंसिर ३० गते प्रतिवादी पाण्डेलाई पाँच सय रुपैयाँ जरिमाना मात्र गरेको थियो । उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादीलाई दुई महिना कैद र बीस हजार रुपैयाँ जरवानाको सजाय सुनाएको छ । कैलाली जिल्ला अदालतले पुरानो कानूनी व्यवस्था प्रयोग गरी गरेको फैसला त्रुटिपूर्ण भएको इजलासको ठहर छ ।
उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको अवस्थालाई ध्यानमा राख्दै न्यूनतम सजाय गर्दा समेत न्यायको मकसद पूरा हुने हुँदा उक्त सजाय गरेको उच्च अदालतले जनाएको छ ।