बलात्कार आरोपमा हाल हिरासतमा रहेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी भनिने कृष्णप्रसाद जोशी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्रबार उनलाई पक्राउ गरेको हो । उनले नाबालिग बलात्कारको आरोपी पल शाहका लागि मतियारको काम गरेको भन्दै पक्राउ गरिएको हो ।
घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई हत्यासम्मको धम्की दिएको र बलात्कारका लागि बालिगलाई फकाउने र प्रबन्धमा संलग्न देखिएको भन्दै जोशीलाई शुक्रवार पक्राउ गरेर जिल्ला अदालत तनहुँबाट सात दिनको म्याद समेत लिएको छ ।
अभिनेता पल शाह भने इलाका प्रहरी कार्यालय गैंडाकोटमा छन् । एक किशोरी गायिकलाई बलात्कार गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा रहेको शाहलाई सोमबार इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको थियो ।
शाहले बलात्कार गरेको भन्दै ती किशोरीले तनहुँ र गैंडाकोटमा उजुरी दिएकी थिइन् । ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेपछि शाह १५ फागुनमा आफैं प्रहरीसमक्ष उपस्थित भएका थिए ।
१७ वर्षीया किशोरी गायिकालाई उनले विवाह गर्छु भन्दै अनेक प्रलोभनमा पारेर यौन शोषण गरेको पीडित पक्षले जाहेरीमा आरोप लगाएका छन् । स्रोतका अनुसार आफूविरुद्ध भएको यौन शोषण बाहिर ल्याउन किशोरीले पटक पटक प्रयास गरे पनि पलले अनेक कुरा गरेर उनलाई फकाएका थिए ।
के भन्छ कानुनले ?
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।