प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक छिट्टै नै अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुन गइरहेको बताएका छन् ।
बिहीबार वीरगञ्जमा नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय अधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उद्यम क्षेत्रको विकास र विस्तारका लागि तीनै तहका सरकारले एक आपसमा समन्वय गरेर प्रभावकारी योजनाका साथ कार्य गर्न जरुरी रहेको उनको भनाइ छ । साना तथा मझौला उद्योगको प्रर्वद्धनका लागि सरकारले छिट्टै नै नयाँ संस्थागत संरचना सहितको विशेष कार्यक्रम कार्यान्वयन गर्न लागेको समेत उनले जानकारी दिए ।
मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नति गर्न आवश्यक रहेको उनले बताए । उपभोग गर्ने वस्तु तथा सेवा विदेशबाट आयात भइरहेकाले मुलुकमा औधोगिकरण र आत्मनिर्भर अर्थतन्त्रको विकासमा चुनौती सिर्जना गरेको उनको भनाइ छ ।
कोभिड–१९ बाट प्रभावित र कमजोर भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्न समग्र औद्योगिक उत्पादनमा वृद्धि गरेर निर्यात प्रबद्र्धनमा जोड दिए ।