सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलको निर्देशनमा बुधबार पालिकाको कार्यालयमा तालाबन्दी भएको छ।
अध्यक्ष मण्डलले महिलाहरू ल्याएर आफ्नै निर्देशनमा कार्यालयमा तालाबन्दी गराएको स्थानीयका आरोप छ।नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकामा आएको रकम भुक्तानी नदिएको भन्दै महिलाहरूले निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार यादवसहितका कर्मचारीलाई कार्यालय बाहिर जान लगाएर अध्यक्ष मण्डलको निर्देशनमा ताला लगाएको स्थानीय श्याम मण्डलले बताए।
कर्मचारीका कारण भुक्तानी रोकिएको आरोप लगाउँदै अध्यक्ष मण्डलले कार्यालयमा ताला लगाउन लगाएको उनले बताए।निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले निमित्त भएको दुई महिना बितिसक्दा पनि पालिका अध्यक्ष मण्डलले अख्तियारी नदिएपछि आर्थिक कारोबार ठप्प भएको बताए ।
महिलाहरू ताला लगाउन आएपछि आफूसहितका कर्मचारी बाहिर निस्केको उनले बताए । पालिकाका एक कर्मचारीका अनुसार अध्यक्ष मण्डलले मनोमानी तरिकाले गरेको ४ करोड रुपैयाँको भुक्तानीको चेक पहिला दिएमात्र अख्तियारी दिने भनेपछि समस्या बल्झिँदै गएको हो ।
अध्यक्षका अनुसार ४ करोड रुपैयाँ भुक्तानी दिन कानुनले नमिल्ने कर्मचारीहरूले बताएपछि आफ्नो निर्देशनमा ताला लगाएको बताए ।