साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क (उद्यान) निर्माण गरिएको छ ।
१० वर्षे माओवादी जनयुद्धको विभिन्न समय तथा स्थानमा राज्य पक्षबाट मारिएका खोटाङका ७३ शहीदको सम्झनामा पर्यटकीय स्थल तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क निर्माण गरिएको हो ।
पार्कमा खोटाङका प्रथम शहीद ठूलकुमार श्रेष्ठदेखि कर्मचारी आन्दोलनमा नेपाल प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका शहीद मनोज जोशीको नामसमेत समावेश गरिएको छ ।
नेकपा माओवादीको जिल्ला समिति सदस्य श्रेष्ठलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरी विसं २०५५ पुस २७ गते उदयपुरको तावाश्रीमा लगेर गोली हानी हत्या गरेको थियो ।
शहीद जोशीलाई विसं २०४८ साउन १५ गते नेपाल प्रहरीले गोली हानेर हत्या गरेको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारसँग भएको सम्झौता पूरा नभएको विरोधमा कर्मचारीले निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी जोशीलाई दिक्तेलस्थित हेलिप्याडमा प्रहरीले हानेको गोली लागेर उनको मृत्यु भएको थियो ।
देश र जनताका लागि आफ्नो ज्यान आहुति दिने शहीदहरूको सम्मान र पर्यटकीय स्थल तावाभञ्ज्याङको प्रवर्द्धन गर्न पार्क निर्माण गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए ।
१० वर्षे जनयुद्धको समयमा माओवादीको सुरक्षित सेल्टर मानिने तावाभञ्ज्याङ नजिकै पाँचधारेमा विसं २०६२ असार ८ गते माओवादी र नेपाली सेनाबीच दोहोरो भिडन्त हुँदा माओवादीका कम्पनी कमान्डर सर्वधान राई ‘अग्नि’सहित १० जनाले ज्यान गुमाएका थिए । उक्त घटनामा नेपाली सेनाका १३ जवानसमेत मारिएका थिए ।
तावाभञ्ज्याङमा निर्माण गरिएको शहीद पार्कलाई बाह्रै महिना हराभरा बनाएर पर्यटकलाई आकर्षित गर्न पार्क वरिपरि व्यावसायिक रुपमा चिया बगानसमेत बनाइएको छ । शहीद पार्क निर्माण स्थलको दायाँबायाँ करिब १० रोपनी जग्गामा गत वर्ष गाउँपालिकाको लगानीमा आठ हजार चियाका बिरुवा लगाइएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए ।
तावाभञ्ज्याङ टेम्केडाँडा जोड्ने मुन्धुम ट्रेल (पदमार्ग)को प्रवेशद्वार हो ।