प्रदेशका नागरिकहरुलाई सरकारी स्तरबाटै यातायात शुविधा दिन खरिद गरिएको ५ वटा बस विभिन्न संस्थाहरुलाई बाड्ने निर्णय मधेश प्रदेश सरकारले गरेको छ ।
‘प्रदेश परिवहन’ नाम दिएर प्रदेशका ८ वटै जिल्लाको विभिन्न रुटमा सरकारीस्तरबाटै सञ्चालन गर्न भन्दै ती बस खरिद गरिएको थियो ।
पछिल्ले समय लोसपाबाट सरकारमा सहभागि रहेका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेशवासीलाई सहज, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने भन्दै बस खरिद गर्ने निर्णय गरेका थिए ।
मधेश प्रदेश सरकारको सोमवार सम्पन्न मन्त्रीपरिषदको बैठकले ति बसहरु जनसेवाका लागि सञ्चालन नगरी विभिन्न संस्थाहरुलाई बाड्ने विवादित निर्णय गरेकोे हो ।
बस सञ्चालन गर्दा सरकारलाई खर्चको बोझ बढ्ने र यसका लागि कर्मचारीहरुको समेत व्यवस्था गर्नुपर्ने भन्दै ती बसलाई विभिन्न संस्थाहरुलाई बाड्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले बताएका छन् ।
मन्त्रिपरिषदको बैठकले पाँच बसमध्ये मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई एक÷एक वटा बस हस्तान्तरण गर्ने निर्णय गरेको मन्त्री साहले बताए ।
तत्कालिन मन्त्री सोनललको मन्त्रालयबाट २०७७ सालमा दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा पाँच वटा बस खरिद गरिएको थियो ।
बस सञ्चाल अवागै लोसपा सरकारबाट बाहिरिएपछी मुख्यमन्त्री लालबाबु राउत गद्दीले खरिद गरिएका बसहरुलाई सञ्चालनमा ल्याउनु भन्दा पनी जनकपुरको मधेस भवन परिसरमा थन्क्याएर राख्न आदेश दिएका थिए ।