एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन् ।
नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँच जना सोमबार राति बेहोस अवस्थामा भेटिएका हुन् ।
तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
यस्तै ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधान बोल्न नसक्ने अवस्थामा फेला परेको प्रवक्ता मैनालीले बताए । उनीहरु चारै जनाको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुले विषादी औषधि सेवन गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनीहरुले ‘सुसाइड’ नोट लखेर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।
परिवारका सदस्य सबै अचेत अवस्थामा रहेकाले सबै कुरा खुल्न नसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले बताए । प्रहरीले घटनास्थलमा विषाक्त औषधिको बट्टा फेलापारेको छ । घटनास्थलबाट प्रहरीले ‘सुसाइड’ नोट समेत बरामद गरेको छ । जहाँ उनीहरूले पछिल्लो एक साताको दैनिकी लेखेका छन् । साथै, उनीहरूले सुसाइड नोटमा परिवारभित्रको मानसिक तनाव र आर्थिक संकटबारे लेखेका छन् ।
चरम आर्थिक संकट र पारिवारिक तनावले उनीहरूले आत्महत्याको बाटो रोजेको हुन सक्ने सम्भावना छ ।
काठमाडौं महानगरपालिका–१५ डल्लु घर भएका उनीहरु नागार्जुनमा भाडामा बस्दै आएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।