पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच विवाद बढ्दै जाँदा कुटाकुट भएको छ ।
उपाध्यक्ष चौधरीले विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षसहित वडाअध्यक्षको समूहले हातपात गरेको आरोप लगाएकी छन् ।
अध्यक्ष जैसवालले भने सामान्य वादविवाद हुँदा उपाध्यक्षले नै आफूमाथि पानीको बोत्तल हिर्काइ दुर्व्यवहार गरेको दाबी गरेका छन् ।
जैसवालले सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजन गरी उपाध्यक्षले दुर्व्यवहार गरेको बताए । यसअघि उपाध्यक्ष चौधरीले अध्यक्षसहितको समूहले आफूलाई आइतबार कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
कुटपिटले चोटपटक र डाम बसेको उनको दाबी छ । अध्यक्ष र उपाध्यक्षको झगडाले सोमबार दिनभर गाउँपालिका बन्द रहेको स्थानीय रामकिशोर चौधरीले बताए।