सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्य समितिको बैठक सुरू भएको छ ।
बैठकमा चुनाव केन्द्रित दुई महिने अभियानको विषयमा छलफल हुनेछ । त्यस्तै, कार्य समितिलाई पूर्णता दिने विषयमा नीतिगत छलफल र निर्णय हुने सम्भावना रहेको छ ।
माओवादीको आठौं महाधिवेशन पश्चात् अध्यक्षबाहेक बाँकी रहेका अन्य पदाधिकारी एवम् कार्य समितिको पूर्णताका विषयमा बैठकमा छलफल हुने जनाइए पनि आजको बैठकमा यो कुनै पनि विषय प्रवेश नहुने केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
माओवादीको फागुन २० गते शुक्रबार राष्ट्रियसभा गृहमा सुरु भएको केन्द्रीय समितिको बैठक शनिबार थप गृहकार्य गरेर आइतबार बस्ने भनिए पनि स्थगित भएको थियो ।
यसअघिको बैठकमा माओवादीका नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले संसदबाट अनुमोदन भइसकेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना सम्बन्धमा फरक मत राखेका थिए ।