तत्कालीन पोखरा नगरपालिकाका प्रधानपञ्च गणेश शेरचनको निधनमा पोखरा महानगरले शोक मनाउने भएको छ । आज (सोमबार) महानगरपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा घोषणा गरिएको छ ।
प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ति जारी गरी शेरचनको निधनले पोखरालाई अपुरणीय क्षति पुगेको भन्दै उनको निधनमा एक दिन सार्वजनिक बिदा दिइएको बताए ।
शेरचन २०३२ देखि २०३८ सम्म पोखराको प्रधानपञ्च बनेका थिए । त्यसपछि उनी कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए । शेरचनको आइतबार ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका पालामा शेरचन सञ्चार सहायक मन्त्री थिए । ‘शेरचनको निधनले हामी दुःखी भएका छौँ । इमान्दार र विकासप्रेमी शेरचनको निधनले पोखरालाई अपुरणीय क्षति पुगेको छ,’ शोक विज्ञप्तिमा भनिएको छ, ‘नगर पन्चायतको प्रधानपन्च भएर उहाँले पुर्याउनुभएको योगदानलाई पोखरेलीले सम्झिरहनेछन् ।’