कोभिड महामारीका कारण चीनबाट फर्केका २०१५/२०१६ व्याचका एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरू इन्टर्नसिप (प्रयोगात्मक शिक्षा) व्यवस्थापन कार्यान्वयन ढिलाइ भएको भन्दै आन्दोलनमा छन् ।
सोमबारदेखि सुरु भोक हड्ताल र शान्तिपुर्ण धर्ना शुक्रबार पाँचौं दिनसम्म पनि जारी छ । सरकारले आफूहरूका मागहरू सम्बोधन नगरेको भन्दै उनीहरुले सोमबारदेखि भोक हड्ताल र शान्तिपुर्ण धर्ना सुरु गरेका थिए ।
शुक्रबार पाँचौं दिन पनि उनीहरुले माइतीघर मण्डलामा भोक हड्ताल र शान्तिपुर्ण धर्ना दिएका छन् ।
गत पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसिप गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो । तर, निर्णय भएको महिनौँ बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गर्न आयोगले लापरवाही र ढिलासुस्ती गरेको भन्दै फेरि आन्दोलनमा उत्रिन बाध्य भएका छन् ।
उनीहरूले इन्टर्नसिपको व्यवस्था कार्यान्वयनमा नआउँदा सम्म आफूहरूको आन्दोलन जारी रहने जनाएका छन् ।
२०१५/२०१६ व्याचका विद्यार्थीहरूको इन्टर्नसिप सम्बन्धित चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिलको दिशा निर्देशन अनुसार ढिलासुस्ती नगरी उचित समय अवधि (बढीमा १८ महिना) हुने गरी व्यवस्थापन कार्यान्वयन गर्न सरकार समक्ष अनुरोध समेत गरेका छन् ।