युद्धग्रस्त मुलुक युक्रेनको राजधानीबाट सबै नेपाली बाहिरिएका छन् ।रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका हुन् ।
जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए ।
गैरआवासीय नेपाली संघ, रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार मंगलबारसम्म युक्रेन छाडेर २ सय ३२ जना पोल्यान्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका छन् ।
यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।
उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा। बद्री केसीले रुसमा रहेका नेपालीले समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीसँग सम्पर्क रहेको जानकारी दिए ।