विराटनगर महानगरपालिकाको नवौँ नगरसभा सम्पन्न भएको छ ।सभामा चालु आर्थिक वर्ष २०७८/७९ को बजेट संशोधन, ऐन कानुनको विधेयक स्वीकृत तथा अर्ध वार्षिक प्रगति समीक्षा, संशोधित नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको थियो ।
सभामा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निर्वाचनको समयमा आफूले गरेको घोषणाअनुसार नगरमा ९० प्रतिशतभन्दा बढी काम गरेको बताए ।
उनले जनताले प्रत्यक्ष रुपमा विकासको अनुभूति गर्न पाएकामा खुसी व्यक्त गर्दै विराटनगरका १९ वटै वडाका जनप्रतिनिधिले आ–आफ्नो वडामा अधिकतम विकास गरौँ भन्ने भावनाका साथ काम गरेकामा प्रशंसा गरे ।
आफ्नो कार्यकालमा १५० किलोमिटरभन्दा बढी सडक कालोपत्र, ६ हजार घर समेटिने गरी ढल प्रणालीसहित फोहरमैला प्रशोधन केन्द्र निर्माण, आधुनिक तथा सुविधा सम्पन्न वडा कार्यालय निर्माणलगायत काम गरेको उनले जानकारी दिए ।
सङ्घीय सरकारको सहयोग प्राप्त गर्न नसक्दा कतिपय योजना अघि बढाउन नसकेको प्रमुख पराजुलीले गुनासो गरे । “कोरोना महामारीका समयमा पनि महानगरपालिकाले जनताको घरदैलोसम्म पुगेर सेवा गरेको छ”, उनले भने । उपप्रमुख इन्दिरा कार्कीले जनप्रतिनिधिको नाताले जनताको सक्दो काम गरेको बताए ।