गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले छोटो अवधिमै जनताको मन छुने कामको सुरुआत गरेको बताएका छन् ।
तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयको आज आयोजित स्वर्ण महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आफू नेतृत्वको सरकार गठन भएको आठ महिनामा जनताको मन छुने काम गरेको दावी गरे ।
सरकारले फागुन १ गतेदेखि प्रदेशभर रगत निःशुल्क उपलब्ध गराउने निर्णय गरेको र उक्त निर्णयले जनतालाई राहत हुने उनले उल्लेख गर ।
प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा सडकमा बेवारिसे अवस्थामा जनता भौतारिन नपरोस् भन्नका लागि मानव सेवा आश्रमसँग सम्झौता गरी त्यस्ता व्यक्तिको व्यवस्थापन गरिएको मुख्यमन्त्री पोखरेलले बताए । सरकारले पोखरामा दुई र लमजुङमा एउटा मानव आश्रमसँग सम्झौता गरी प्रतिव्यक्ति तीन हजार दिने गरी सडकमा बेवारिसे अवस्थामा रहने व्यक्तिको व्यवस्थापनका लागि बजेट विनियोजन गरेको उहाँले जानकारी दिए ।
कोभिडबाट मृत्यु भएकाका परिवारलाई रु ५० हजार राहत दिने र अभिभावक गुमाएका बालबालिकालाई १८ वर्ष उमेर नपुगेसम्म मासिक रु पाँच हजार राहत दिने कामको सुरुआत भएको मुख्यमन्त्री पोखरेलले बताए । मुख्यमन्त्री पोखरेलले प्रदेशभित्रका अस्पतालमा निःशुल्करूपमा डायलासिस गर्ने क्षमता वृद्धि गर्ने सरकारको सोच रहेको बताए ।
प्रदेशभित्र हाल ५५० जना डायलासिस गर्नुपर्ने बिरामी रहे पनि १७५ ले मात्रै निःशुल्क सेवा पाइरहेकाले सुविधा विस्तार गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।